राजनीति

कोरोना सङ्क्रमणबाट काँग्रेस नेता घिमिरेको निधन: देउवाद्वारा श्रद्धाञ्जली व्यक्त



ललितपुर, ११ साउन । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ ।

४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत हुनुहुन्थ्यो ।

उहाँको निधनबाट पार्टीले एक होनहार युवा नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ । उहाँको निधनप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नुभएको छ, “नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”