अर्थ

माछापुच्छ्रे बैंक र पेट्रोलियम डिलर्सबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता



काठमाडौँ, ९ चैत । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । उक्त हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एंव पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सम्झौतापछि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरूले पिओएस, क्युआरलगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् । सम्झौतापछि बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरू समेत सञ्चालन गर्ने बताइएको छ । बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।