समाचार

आजको मौसम



काठमाडौँ, १९ साउन । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा रहेको विभागको भनाइ छ ।

विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागको केही स्थानमा र बाँकी क्षेत्रको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

कोसी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।