बैंक

राष्ट्र बैंकले तीनवटा बैंकलाई गर्‍यो कारबाही



काठमाडौँ, २२ साउन । नेपाल राष्ट्र बैंकको बैक सुपरीवेक्षण विभागले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

तीन वाणिज्य बैंकमध्ये प्राइमलाई सचेत गराइएको छ । कुमारी र हिमालयन बैंकलाई भने नगद जरिबाना गरिएको छ । प्राइमले ‘क्यापिटन एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेकाले सचेत मात्र गराइएको हो ।

तर, कर्जा स्रोत परिचालन अनुसार कुमारी बैंकले माघमा कर्जा निमक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ जरिबाना गरेको छ । हिमालयन बैंकलाई पनि यही शीर्षकमा जरिबाना गरिएको हो । बैंकले गत वर्षको कात्तिकमा तोकिएको कर्जा–निक्षेप अनुपात कायम नगरेकाले एक करोड ३९ लाख ४७ हजार रुपैयाँ जरिबाना भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।