समाचार

एचपीभी खोप भदौ २७ देखि दिइने



काठमाडौँ, २० भदौ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाइलटिङमा रुपमा सातै प्रदेशका संघीय अस्पतालहरूबाट सुरु गर्ने भएको छ ।

भदौ २७ गतेदेखि एचपीभी खोप सातवटै प्रदेशका संघीय अस्पतालबाट १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बागमती प्रदेशको परोपकार प्रसूति अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा २० हजार भाइल पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप दामासायी (बराबर)तरिकाले वितरण गरिएको छ ।

पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप ६ महिनाको अन्तरमा दुई मात्रा लगाउनुपर्ने परिवार कल्याण महाशाखाले जनाएको छ ।