समाचार

भारतविरुद्ध दीपेन्द्रले दिलाए पहिलो सफलता



काठमाडौँ, १६ असोज । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । 

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता दिलाएका हुन् । १०औं ओभर बलिङका लागि आएका दीपेन्द्रले पाँचौँ बलमा भारतका कप्तान रितुराज गाइकवाडलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराएका हुन् । गाइकवाड २५ रन बनाएर आउट भए । 

जारी खेलको १० ओभर समाप्त हुँदा भारतले एक विकेट गुमाएर १०४ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका यशस्वी जयसवाल ७३ र तिलक वर्माले एक रनमा खेलिरहेका छन् । 

आजको नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अभिनाष बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।