समाचार

आजको मौसम



काठमाडौँ, १३ कार्तिक । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना रहेको हो ।

त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।