समाचार

लागूऔषधसहित पाँच जना पक्राउ



काठमाडौँ, २० कार्तिक । प्रहरीले हेटौँडा र पोखराबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट अवैध लागूऔषध गाँजा १० केजीसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य घर भएका २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश घर भएका २४ वर्षीय रजनिस सिङ रहेका छन् । प्रहरी चौकी रातोमाटे समेतबाट खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ६७५४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-२१ कश्यारघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय आशिष सुनार समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले सुनारको कोठाबाट उक्त परिमाणको लागूऔषध फेला परी तीनै जनालाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।