विश्व

लागुपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी



तेहरान, १८ पौष । इरानले हालका दिनमा लागु पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो । 

आधिकारिक आइआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन जनालाई फाँसी दिइएको छ । अन्य छ जनालाई मेथामफेटामाइन, हेरोइन र भाङ तस्करी गरेको आरोपमा छुट्टाछुट्टै फाँसी दिइएको छ । 

इरान अफगानिस्तान र युरोपबीचको प्रमुख अफिम तस्करी मार्गमा अवस्थित छ र घरेलु अफिमको प्रयोग दर विश्वमा सबैभन्दा धेरै छ । सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घ कार्यालय अन ड्रग्स एन्ड क्राइम (युएनओडिसी) ले उद्धृत गरेको आँकडाले इरानमा २८ लाख मानिसमा लागु पदार्थको समस्या रहेको बताएको छ ।