शैक्षिक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताः सीतापाइला माध्यामिक विद्यालयलाई तीन स्वर्ण पदक



काठमाडौँ, १८ पौष । नागार्जुन नगरपालिकामा अन्तर विद्यालय नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सीतापाइला माध्यामिक विद्याललयले तीन वटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरी प्रथम हुन सफल भएको छ । त्यस्तै द एक्शल पब्लिक सेकेण्डरी स्कूल छकडोलले तीनवटा स्वर्ण र एउटा कास्य पदक प्राप्त गरेको छ भने बालविकास माध्यामिक विद्यालय रानीवनले दुई स्वर्ण र एक रजत र एक कास्य पदक प्राप्त गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको खेलमा एथ्लेटिक्स तर्फ १४ वटा, कराँतेतर्फ छ वटा र तेक्वान्दोतर्फ छ वटा खेल खेलाइएको थियो । त्यस्तै नगरस्तरीय कराँते तथा टेकवान्दोतर्फ थप सानो समूहका १२ खेल खेलाइएको र सबै खेलहरुमा ४८२ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको नागार्जुन नगरपालिकाले जनाएको छ ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न भएको नगरपालिका प्रमुख मोहनबादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले खेलले देशको प्रतिष्ठामा बृद्धि गर्ने भन्दै खेलबाट स्वास्थ नागरिक उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । बस्नेतले सबैलाई स्वस्थ रहनका लागि खेलले अभिप्रेरित गर्ने चर्चा गर्दै खेललाई अझ व्यवस्थित, स्वरोजगारि बनाउँदै देशको अर्थतन्त्रमा समेत सघाउने पुर्याउने लक्ष्य नागार्जुन नगरपालिकाले राखेको स्पष्ट पार्नुभयो । उहाँले नागार्जुन नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत बिधालयले प्रदान गर्ने शैक्षिक गुणस्तरमा भएको बिभेदको अन्त्य गरी मुलुकमै उदाहरण बन्न चाहेको बताउनुभयो ।

नगरपालिका भित्रका ३७ वटा विद्यालयका विद्यार्थीहरुको सहभागितामा उक्त रनिलशिल्ड प्रतियोगिता उद्घाटन हलचोक स्थित शसस्त्र प्रहरी खेल मैदानमा सम्पन्न भएको थियो । प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्य रहेको उद्घाटन कार्यक्रममा बेलुन उडाएर कार्यक्रमलाई औपचारिक रुपमा उद्घााटन गर्नुभएको थियो । उहाँले औपचारिक उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नारा साच्चिकै अर्थपूर्ण रहेको बताउदै विद्यार्थीले किताबी ज्ञान हासिल गरेर मात्र प्रयाप्त नहुने बताउदै आफ्नो स्वास्थ्य नै धन हो भन्ने कुरा पनि भुल्न नहुने बताउनुभएको थियो ।

स्वस्थ नागरिकले मात्र स्वस्थकर राष्ट्रको परिकल्पना गर्न सकिने बताउदै उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्नुहुने सम्पुर्ण नगर टिमलाई धन्यबाद दिदै पूर्ण सफलताको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा रनिङ शिल्ड प्रतियोगिता पुर्ण सफलताको शुभकामना मन्तव्य राख्नेहरूमा कार्यक्रमका बिशेष अतिथिहरू प्रतिनिधि सभा सदस्य गणेश पराजुली, पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य केशव प्रसाद पोख्रेल,पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य उद्धव थापा लगायत हुनुहुन्थ्यो ।

प्रधानाध्यापक प्रेम लामाद्वारा सहजीकरण गरिएको उद्घाटन कार्यक्रममा उपस्थित सम्पुर्णलाई उपप्रमुख सुशिला अधिकारीले स्वागत मन्तब्य मार्फत स्वागत गर्नुभएको थियो।उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, नगर प्रबक्ता महेश रिमाल, सशस्त्र प्रहरी बलका वरिष्ठ अफिसरहरू,विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु कार्यपालिका सदस्यहरु,बिभिन्न शाखाका प्रमुखहरु, संस्थागत तथा सामुदायिक विधालयका शिक्षक शिक्षिका अभिभावक तथा विद्यार्थीहरु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न स्कुलका विद्यार्थीहरुले मार्च पास, डान्स लगायत विविध कला प्रस्तुति गरेका थिए ।