समाचार

एक लाखले पाए टाइफाइडविरुद्ध खोप



रुकुमपश्चिम, २१ पौष । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका एक लाख बढी व्यक्तिले दादुरा–रुवेला र टाइफाइडविरुद्धको ‘टिसिभी’ खोप लगाएका छन् ।

जिल्लामा विशेष अभियान चलाएर खोप सञ्चालन गरिएकामा एक लाख चार हजार छ सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

यही पौष ५ गतेदेखि सञ्चालन भएको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान पौष १५ गतेसम्म सञ्चालन भएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिएको खोप अभियान जिल्लाका छवटै स्थानीय तहका वडाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको हो ।

जिल्लाभर छ महिनादेखि १५ वर्षमुनिका ५० हजार तीन सय ७८ बालबालिकाले दादुरा रुवेलाको खोप लगाएका छन् भने १६ देखि ४५ वर्षसम्मका ५४ हजार दुई सय २९ जनाले टाइफाइडविरुद्धको टिसिभी खोप पाएका छन् ।

जिल्लामा दादुरा–रुवेला खोप ४७ हजारको लक्ष्य लिइएकामा लक्ष्यभन्दा बढी अर्थात् एक सय सात प्रतिशत बालबाललिकाले खोप लगाएका हुन् । त्यस्तै टाइफाइडविरुद्धको खोप भने ७६ हजार लक्ष्य रहेकामा लक्ष्यभन्दा कम ७१ प्रतिशत व्यक्तिले खोप लगाएका छन् ।