समाचार

अस्पतालले एक्सरे मेसिन मर्मत नगर्दा बिरामीलाई सास्ती



मुगु, २० माघ ।  कर्णाली  प्रर्देशको बिकट हिमाली  जिल्ला मुगुको जिल्ला अस्पतालमा एक्सरे मेसिन बिग्रिएर मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती खेप्नुु परिरहेकाे छ  ।

जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिए पछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको  जिल्ला अस्पताल मुगुले जनाएको छ ।

मेसिनको  इमेज क्यासेट बिद्युत् भोल्टेज अनियमित भई बिग्रेको  र  मर्मतका लागि करिब २ लाख ५० हजार जति लाग्ने  अस्पतालले जनाएको छ । मर्मत खर्चका लागि अस्पतालले रकम व्यवस्थापन गर्न  सक्ने भए पनि  विद्युत् भोल्टेज अनियमित हुने समस्याको समाधान नभइ सेवा सुरु गरे फेरि एक्सरे मेसिन बिग्रने  भयले गर्दा मेसिन मर्मत नगरिएको अस्पतालको तर्क छ । 

यसै कारण जिल्लाका दूर दराजबाट उपचारको लागि जिल्ला अस्पताल ठिनी  आउने  बिरामी एक्सरे मेसिन अभावले अन्यौलमा पर्ने गरेका छन् । 

अस्पतालमा एक महिनादेखि  बिग्रिएको एक्सरे मेसिन मर्मत कार्यको लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर कमल ढुङ्गानाको भनाई छ ।

‘मुगुको बिद्युत् भोल्टेज  स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरणहरू बिग्रिएर थन्क्याएका छौँ ,एक्सरे मेसिन पनि यसरी बिद्युत् भोल्टेज स्थिर नभएर नै बिग्रिएको हो।’, ढुङ्गानाले बताउनु भयो ।  ‘लाखौँ रूपयाँ खर्च गरेर एक्सरे मेसिन बनायो फेरि बिद्युतको कारणले बिग्रिहाल्छ ।  केही दिन पछि  अस्पताल हाता भित्र विद्युतीय ट्रान्सफर्मर जडान गर्ने र मेसिन चलाउन सक्ने बिद्युतको  भोल्टेज पुगेपछि एक्सरे मेसिन मर्मत गरी सुचारु गरिन्छ ।’निमित्त  स्वास्थ्य प्रमुख ढुङ्गानाले बताउनुभयो ।   मेसिन चलाउन २ सय २० भोल्ट बिद्युतको आवश्यकता पर्ने  गरेको र हालको बिद्युतको भोल्टेज अपुग भएको उहाँको भनाई छ ।  विद्युत् भोल्टेज बढाउने ट्रान्सफर्मर खरिदको प्रक्रिया पूरा भएपछि  एक्सरे सुचारु हुने उहाँले बताउनु भयो ।

जिल्ला अस्पताल ठिनी बाहेक  एक्सरेको कुनै विकल्प मुगु जिल्लामा नभए पछि  मुगुका बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरि न्यूनतम ७ हजार भन्दा बढी रकम लाग्ने गरेको छ । २०६३ सालमा जिल्लाका साबिकका गम, सोरू, खतेड र करान भेगका जनताहरूलाई  स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १५ शैयाको अस्पताल संन्चालनमा  आएको थियो ।

उक्त जिल्ला अस्पताल बिरामीको लागि अझै व्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालको  आवश्यक उपकरणहरूसहित भौतिक पूर्वाधार निर्माण गरि दिए पनि आन्तरिक रुपमा जनशक्ति अभाव, फार्मेसी सेवा सञ्चालन र  रक्तसञ्चार केन्द्र, नहुँदा  बिरामीहरू मर्कामा पर्दै आइरहेका छन्   । रासस