शैक्षिक

कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने



काठमाडौँ, २२ फागुन । बहालवाला कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । तर, उनीहरुले खुला बजारबाट शेयर खरिद गर्न भने पाउने छन् ।

संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको व्यवस्था छ । त्यसअन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ । कर्मचारीहरुलाई राजनीतिमा भाग लिन, सरकारको आलोचना गर्न, बन्द हड्ताल गर्न, अन्यत्र नोकरी गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न, दान, उपहार चन्दा आदि प्राप्त गर्न र सापटी लिन बन्देज गरिएको छ । नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पनि कर्मचारीले पाउने छैनन् । तर, खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न भने सकिने छ ।

यसैगरी लोक सेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि सन्चालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण दिन पाउने छैनन् । कतिपय कर्मचारीहरुले लोक सेवा तयारी कक्षामा पढाउने र कार्यालय समयमा पनि त्यसको नोट वा प्रश्नपत्र बनाएर बस्ने गरेको गुनासो बढेपछि सरकारले त्यस्ता कर्मचारीहरुलाई कडाइ गर्न खोजेको हो ।