समाचार

आज महाशिवरात्रि पर्व मनाइँदै



काठमाडौँ, २५ फागुन । आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख। महाशिवरात्रि पर्व । पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ ।

शिवको अर्थ हुन्छ- कल्याण । भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ । त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन् । जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि ।

व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन् । महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।