Banner News

नेपाल हङकङसित ७३ रनले पराजित



काठमाडौँ, २६ फागुन । मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेटमा नेपाल हङकङसित ७३ रनले पराजित भएको छ ।

शनिबार हङकङमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा भ्रमणकारी नेपालले १६.४ ओभरमा अलआउट हुनुअघि १३९ रन मात्र बनाउन सक्यो । 

हङकङको जितमा बाबर हायातले विस्फोटक पारी खेले । ४९ बलमा १३ छक्का र तीन चौकाको मद्दतमा उनले ११० रनको योगदान गरे । अन्सी राथले ३९, मार्टिन कोट्जेले ३१, अयाज खानले अविजित २१ रन जोडे । राष्ट्रिय टोलीबाट यही खेलमार्फत ट्वान्टी–२० मा ‘डेब्यु’ गरेका नेपालका आकाश चन्दले तीन र आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए ।

नेपालको पारीमा विनोट भण्डारीले सर्वाधिक ४२ रन जोडे । आरिफ शेखले ३८, कप्तान रोहित पौडेलले ३० रन बनाए । अरू कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । हङकङका ऐजाज खानले चार, इसान खानले तीन र एटीक इक्बाल र नर्सुल्ला रानाले समान एक विकेट लिए ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृंखला खेल्न बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक ट्वान्टी–२० शृंखला सुरु हुँदै छ । नेपालले हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक शृंलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ । यस्तै, नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।