Banner News

अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार : ऊर्जामन्त्री बस्नेत



काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन् ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरू आए अनुसारको समस्या नभएको दाबी गरेका हुन् । उनले केही दिनदेखि भारतबाट विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । उनले बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरे । मन्त्री बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । 

मन्त्री बस्नेतले भने, ‘लोडसेडिङ हुँदैछ रे । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैछन् भन्ने बाहिर समाचारहरू आइरहेको छ । त्यो सही होइन । नियमित प्रक्रियामा प्रत्येक वर्ष सरकारले नवीकरण गर्ने प्रक्रियामा हुन्छ । हामी त्यो प्रक्रियामा छौँ । त्यो भारत सरकारसँग नवीकरण हुन्छ । प्रक्रियागत रूपमा काम चलिरहेको छ । अहिले बाहिर मिडियामा जस्तो चर्चा र हौवा फैलाएको परिस्थिति छ । त्यो अवस्था होइन ।’ 

भारतबाट बिजुली खरिदका लागि हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । उक्त नवीकरण भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको हल्ला बजारमा चलेको छ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाटभन्दा बढी आयात गर्दै आएको छ ।