समाचार

आइतबारदेखि मौसममा सुधार आउने



काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुनेछ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।