अर्थ

अन्नपूर्ण क्षेत्रमा तीस हजार पर्यटक भित्रिए



काठमाडौँ, २१ चैत । अन्नपूर्ण क्षेत्रमा एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् । 

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको हो । असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको बताइएको छ  ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । 

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।