समाचार

आजको मौसम



काठमाडौँ, ६ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी  भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्नेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।