राजनीति

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : उपाध्यक्ष पौडेल



काठमाडौँ, १३ वैशाख । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । 

अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए । उनले हल्लाहरूको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए । अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको बताए । 

पौडेलले भने, ‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरूले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो । संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’