अर्थ

अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने



काठमाडौँ, ८ बैशाख । अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताएका छन् । 

आज अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर स्वदेश फर्किएका पुनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताएका हुन् । 

उनले भने, ‘विश्व बैंकका तीन जना अलगअलग उपाध्यक्षहरूसँग भेट भयो । अरु उच्च स्तरका पदाधिकारीहरू, प्रबन्ध निर्देशकहरूसँग पनि भेट भयो । सबै मिलाउँदा विश्व बैंकसँगको कुराकानी राम्रो भयो । खासगरी हामीले हरित ऊर्जामा जोड गरिरहेको कुरा । त्यसमा अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादनलाई तयारी अवस्थामा छ, हाम्रो अध्ययन । त्यसमा विश्व बैंकले नेतृत्व गर्नुपर्छ भनेर हामीले सस्तो ब्याजको ऋणको लागि अनुरोध गरिरहेका थियौँ । यस पटकको बैठकको एउटा सफलता भनेको विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने । सस्तो ब्याजको ऋण, सफ्ट लोन दिने र उसले नेतृत्व गर्ने । अरू बैंकहरु पनि छन् । ६ वटा बैंकहरु छन् अरू । तर त्यसको नेतृत्व विश्व बैंकले गर्ने सहमति भएको छ । त्यो महत्त्वपूर्ण सहमति हो । ६३५ मेगावाट दुधकोशीमा पनि एडिबीले नेतृत्व गर्छ तर वर्ल्ड बैंक पनि त्यसमा हुन्छ । त्यसमा पनि सकारात्मक कुरा भएको छ ।’