राजनीति

प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबीच भेटवार्ता



काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेटवार्ता गरेका छन् ।

आज प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा डंगोलले कतारी अमिरको आसन्न नेपाल भ्रमणमा उठाउनुपर्ने विषयको बारेमा छलफल गरेका थिए ।  डा डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुन् । यस्तै कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गरेका थिए । 

“कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रहरुमा विशेष पहल गर्नुपर्ने विषयमा सम्माननीय प्रधानमन्त्रीसँग छलफल भयो,”प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भने,“प्रधानमन्त्रीज्यूले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालको लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी हुने सम्झौता हुने जानकारी दिनुभयो।”