राजनीति

कसैको दास बन्ने हाम्रो नियत होइन : माधव नेपाल



काठमाडौँ, १० वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् । 

आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीति जटिल रहेको बताएका हुन् । 

उनले भने, ‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन,’ नेपालले भने, ‘त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’

उनले  आफूहरू कसैको धाक धम्की गालीगलौज सहनका लागि नजन्मेको भन्दै दास बन्ने नियतले राजनीतिमा नलागेको भन्दै अपमान नगर्न नेताहरूलाई चेतावनी दिए । उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’