समाचार

आगलागीबाट ७ घर जलेर नष्ट



काठमाडौँ, १२ वैशाख । रौतहटको देवाहि गोनाही– १ करुनियास्थित आगलागीबाट ७ वटा घर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार अपराह्न भएको आगलागीबाट ७ घर जल्दा लाखौँको क्षति भएको छ । 

विद्युतको तार सर्ट भएर आगलागी हुँदा स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएका हुन् ।  

आगलागीबाट अन्न, लत्ताकपडा, भाडा, नगदसहित घरहरू जलेर पूर्ण रूपमा नष्ट हुँदा कुल १६ लाख ९० हजार बराबरको क्षति भएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।