समाचार

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति



काठमाडौँ, १७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । 

वडाध्यक्ष रामबहादुर खड्काका अनुसार उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुुगेको छ । 

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर रु १० लाखभन्दा बढीको क्षति भएको छ । पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । पाँच जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको छ । 

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताए ।