समाचार

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो



काठमाडौँ, १८ वैशाख । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मि) सम्म बाटो खुलेको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण सुरु हुनेछ छ । यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो ।

 ‘यो याममा सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोपफिक्सिङको  जिम्मेवारी पर्वतारोहण सञ्चालक सङ्घ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र आइतबार  रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी टाँग्ने काम सम्पन्न भएको छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।