समाचार

अमेरिका र स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी



काठमाडौँ, १८ वैशाख । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढा मगरलाई पक्राउ गरेको हो ।   

पक्राउमध्ये उदिम बहादुरले युएसए पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रुपैयाँ ठगी गरेको र सन्ध्याले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उदिमलाई ललितपुर सातदोबाटो र सन्ध्यालाई  काठमाडौँ मनमैजुबाट पक्राउ गरेको हो ।