राजनीति

कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा



काठमाडौँ, १९ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बद्र्धन गर्न कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन् ।

मजदुर दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं पारिश्रमिक, भयरहित, शान्त र सुरक्षित अवस्थाको सिर्जना गर्न कांग्रेस क्रियाशील रहेको उल्लेख गरे । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गर्दै उनले कांग्रेस र मजदुर सधैँ एक अर्कामा सहयोगी भएको कुरा बताए ।

सभापति देउवाले आज पनि नेपालका श्रमजीवीहरूले अनेक समस्या बेहोरिरहनुपरेको उल्लेख गरे । यो ऐतिहासिक दिनमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।