अर्थ

लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण बनेको सन्देश दियो : अध्यक्ष ढकाल 



काठमाडौँ, १९ वैशाख । नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको बताएका छन् । 

आज नेपाल जग्गा तथा आवास विकास संघको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले भने, “लगानी सम्मेलन सम्पन्न भएको छ । त्यसबाट कति लगानी कति आयो त्यो फरक विषय हो । तर, यसले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको छ,” ।

आफूले नेतृत्व सम्हालेदेखि नै निजी क्षेत्रमा देखिएको समस्या समाधान गर्न लागेको दाबी गरेका छन् । मागअनुसार काम नभए पनि निजी क्षेत्र बिना अघि बढ्न नसकिने सरकार धारणा निर्माण भएको ढकालको भनाइ छ । बजारको मनोबल नबढ्दा र उत्साह नदेखिँदा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन र बजार मनोबल बढाउन निजी क्षेत्रलाई इन्करेज गर्नुपर्ने उनको भनाइ छ । निरन्तर वकालत गर्दै गएमा त्यसले सकारात्मक परिणाम दिने बताउँदै अध्यक्ष ढकालले सरकार पनि यस विषयमा सकारात्मक रहेको जानकारी दिए ।