राजनीति

श्रम मन्त्रालयद्वारा ‘श्रमाधान अभियान’ सुरु



काठमाडौँ, १९ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान अभियान सुरु गरेको छ ।

श्रममन्त्री डोल प्रसाद अर्यालले पत्रकार सम्मेलन गर्दै श्रमाधान अभियानको शुभारम्भ गरेका हुन् । इन्द्रेणीका सात रंगलाई लक्षित गरेर श्रमाधान अभियानमा विभिन्न कार्यक्रम अगाडि बढाइएको हो ।

१. सेकेन्ड इनिङ्स :

पहिलो नम्बरमा रहेको विषय हो ‘सेकेन्ड इनिङ्स’ । जसलाई ‘अवकाश पछिको आरम्भ’ भनिएको छ । श्रमाधान सेकेन्ड इनिङ्स वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरूको सीप, श्रम, र अनुभवलाई पुनः सक्रिय बनाउन मद्दत गर्ने एक विशेष पहल भएको मन्त्री अर्यालले बताए।

यस कार्यक्रमले सेवानिवृत्त व्यक्तिहरूलाई आफ्नो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरूमा संलग्न हुन सहयोग पुऱ्याउने उनको भनाइ छ। 

२. रोजगार बैंक:

‘पेसागत यात्राको सहयात्री’ भन्दै श्रमाधान अभियान अन्तर्गत रोजगार बैंकको अवधारणा अघि सारिएको हो। 

श्रमाधान रोजगार बैंकको उद्देश्य रोजगारदाता र रोजगारी खोज्ने बिचका बहुआयामिक पक्षको समन्वयात्मक सेतु बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र बृहत् प्रतिनिधित्व गर्दै रोजगारीका अवसरहरूलाई व्यापक बनाउनु रहेको मन्त्री अर्यालले बताए। 

यस कार्यक्रमले श्रमिकहरूलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्ने उनको भनाइ छ। 

३.  समता :

समता अन्तर्गत ‘विविधताको एकता, श्रममा समता’ 

अभियान सुरु भएको हो। श्रम क्षेत्रमा लैङ्गिक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मुलधारमा आउन नसकेका नागरिकहरुको पहिचान गर्दै श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उदेश्य रहेको उनको भनाइ छ। 

यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने मन्त्री अर्यालले बताए। 

४. श्रम सम्बन्धी कानुन सबैले जानुन्

श्रमाधान ल श्रमिकहरूलाई उनीहरूका कानुनी अधिकारहरू र कर्तव्यहरू बुझाएर श्रमको यात्रामा कानुनी रूपमा सुरक्षित बनाउने कार्यक्रम रहेको मन्त्री अर्यालको भनाइ छ। 

यस कार्यक्रमले श्रमिकहरूलाई श्रम कानुनका विभिन्न पक्षहरूमा सुसूचित गराई भविष्यमा हुनसक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउने बताए।

यो कार्यक्रम विशेष गरी श्रमिकहरूको कानुनी ज्ञानलाई बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरूलाई सहजतापूर्वक समाधान गर्न मद्दत पुऱ्याउने ध्येयका साथ ल्याइएको उनको भनाइ छ। 

५ कनेक्ट भोलिको तयारी, आजैबाट

विश्व श्रम बजार हरेक दिन बदलिँदो छ । यस परिस्थितिमा नेपालको श्रमिकलाई विश्व श्रमिक बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ छ। 

ग्लोबल ट्रेन्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधतासँग जोड्नु श्रमाधान कनेक्ट कार्यक्रमको उद्देश्य रहेको बताए । यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरिरहेका नेपाली श्रमिक र गैर आवासीय नेपालीहरूलाई एउटै धागोमा जोडेर नेपालीहरूको दक्षता र विज्ञता विकासमा आधारित हुने उनको भनाइ छ। 

६. साथ हामी छौँ

देशभर काम गर्ने श्रमिकहरू र उनीहरूका परिवारहरूको मानसिक स्वास्थ्यलाई केन्द्रविन्दुमा राखी बनाईएको मन्त्री अर्यालले बताए। यो कार्य तनाव व्यवस्थापन मनोसामाजिक सहयोग र सांस्कृतिक समय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सखी समस्या समाधान गर्न केन्द्रीत हुने उनको भनाइ छ। 

७. कल सेन्टर समस्याहरूको सम्बोधन, तुरुन्तै

श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुऱ्याएर समाधान गर्ने सुविधा भएको उनको भनाइ छ। 

त्यसका लागि कुनै समस्या परेका श्रमिकले वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टर मार्फत सेवा लिन पाउने मन्त्री अर्यालले बताए। चाडै नै श्रमाधान एप समेत बनाएर अघि बढ्न खोजिएको उनको भनाइ छ। 

निकट भविष्यमा श्रमिकको समस्या समाधान गर्ने विषयलाई आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) को विकास गरेर अघि बढ्न खोजिएको मन्त्री अर्यालले बताए।