राजनीति

प्रचण्डले खोलो तरेर लौरो बिर्सिए : बाबुराम भट्टराई



काठमाडौँ, १९ वैशाख । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको बताएका छन् ।

आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डले खोलो तरेर लौरो बिर्सिएको आरोप लगाए । 

उनले भने, ‘माओवादी शक्तिहरू कहिले एमाले, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्ड जीले आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाइरहनुभएको छ । प्रचण्ड आफै पछारिसकेपछि निर्वाचन क्षेत्रसमेत नपाएर भतारिँदै हिँडेको बोला थियो । त्यहाँभित्रका साथीले अबको बाटो तपाईँकै हो । संविधानसभा, गणतन्त्र भन्नुभएको थियो । नबुझेर हामीले विरोध गर्‍यौँ । आखिर तपाईँकै बाटोमा सही रहेछ । हामी अहिले पनि कहिले कांग्रेस त कहिले एमालेतिर भौँतारी रहेका छौँ । तपाईँले फेरी साथ दिनुपर्‍यो । माओवादीलाई समाजवादी पार्टीमा रूपान्तरण गर्छौँ । मलाई प्रचण्डजीको विश्वास थिएन । उहाँले सत्ताका निमित्त जोपनि गर्नुहुन्छ, त्यो मलाई थाहा थियो । तर माओवादी भित्रका साथीहरूले नयाँ ढंगले जान्छौं, माओवादी युगको समय सिद्धियो । अब नयाँ समाजवादी ध्रुवीकरणको कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौ भनेको हुनाले एउटा साझा चुनाव चिन्हमा लिएर जाऊँ भनेको हो’, ।