राजनीति

हरेक पालिकामा एउटा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ: मन्त्री भण्डारी



काठमाडौँ, २२ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्रामको विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ ।

अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवं ज्ञानविज्ञान धार्मिक महामहोत्सवको शुक्रबार उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाउन सरकारले नीति ल्याउने बताउनुभयो ।सरकारले उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उद्यमशिलतामा जोड दिएको बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा थुप्रै खनिज तथा खानीजन्य उत्खननलाई मन्त्रालयले प्राथमिकता दिन आन्तरिक नीतिगत अप्ठ्यारालाई सुधार गर्न लागेको जानकारी गराउनुभयो ।पूँजीगत बजेट चालु आवमा खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले त्यसले समृद्धिको लक्ष्यमा मुलुकलाई केही पछाडि पारेको बताउनुभयो । सरकार न्यूनतम साझा कार्यक्रमअनुसार अगाडि बढ्ने उहाँको भनाइ छ ।

पछिल्लो पटक आर्थिक वृद्धिदरमा केही सकारात्मक सफलता देखापरेको जनाउँदै मन्त्री भण्डारीले आगामी दिनमा थप सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।आगामी आर्थिक वर्ष सम्भावनाको वर्ष भएको जनाउँदै उहाँले सरकारका लागि आगामी वर्ष निराशा चिरेर आशा जगाउने वर्ष भएको उल्लेख गर्नुभयो । हाम्रा सम्भावना नेपाली माटोमै रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “तीन तहका सरकारको समन्वयमा स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ, स्वदेशी उत्पादनमा गरेर स्वदेशी वस्तु उपभोग गर्ने नीति चाँडै आउँछ ।”उहाँले उद्योग मन्त्रालयले नयाँ कार्यक्रमको सुरुआत गरेको जानकारी गराउनुभयो । मन्त्री भण्डारीले एक फरक प्रसङ्गमा भन्नुभयो, “अछामका तमाम जटिलता र चूनौती छन्, तिनलाई सम्भावनामा बदल्नुपर्ने छ, ग्रामीण क्षेत्रका समस्या समाधान राज्यले जिम्मेवार भएर सम्बोधन गर्नुपर्छ, सुन्दरता र सम्भावनाले भरिपूर्ण सांस्कृतिक जिल्ला अछाममा थुप्रै खानी तथा खनिजका भण्डार छन्, यसमा उद्योग मन्त्रालयले विशेष ध्यान दिनेछ ।”