समाचार

पत्नीको हत्या गरेर फरार भएका पुरुष पक्राउ



विराटनगर, २२ वैशाख । मोरङको सुन्दरहरैँचामा पत्नी (श्रीमती)को हत्या गरेर फरार भएका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलका ५० वर्षीय पदमबहादुर तामाङलाई शुक्रबार राति पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीले स्थानीयको सहयोग लिएर पक्राउ गरेको हो । 

पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।