समाचार

चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ र गैँडा मृत फेला



काठमाडौँ, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गैँडा मृत अवस्थामा भेटिएको हो ।

नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन ।

यस्तै, नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एक भाले गैँडा मृत फेला परेको छ । गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित छ ।