सम्पादकीय

राराको हवाई भाडा घट्यो



मुगु, १५ माघ । रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाले भाडादर घटेको छ । तारा, गोमा र सीता एयरलाइन्सले नेपालगन्जदेखि उडानमा भाडादर घटाएको हो ।

तारा एयरले नेपालगन्ज जान ४ हजार ५ सय भाडा लिदै आएकोमा हाल ४ हजार २ सय ८० रुपैयाँ लिन थालेको छ ।

यसअघि नेपालगन्जदेखि मुगु आउँदा सहुलियत दरमा ४ हजार ५ सय र कार्गोमा ९ हजार भाडा लिदै आएकोमा हिजो आज सहुलियत दरमा ४ हजार २ सय ८० र कार्गो दरमा ५ हजार रुपैयाँ कायम गरेको छ ।

रारा विमानस्थलबाट सुर्खेत जान ३ हजार ९० रुपैयाँ भाडा रहेको छ । त्यसैगरि गोमा एयरलाइन्सले रारा एयरपोर्टदेखि नेपालगन्ज जान ४ हजार ७ सय भाडा लिने गरेकोमा हाल ४ हजार २ सय ८० कायम गरेको छ ।

नेपालगन्जबाट आउन सहुलियत भाडा ४ हजार २ सय ८० र कार्गोको भाडादर ५ हजार लिन थालेका छन् । जहाजको प्रतिस्पर्धाले भाडा घट्न थालेपछि यात्रुलाई सहुलियत र सहज भएको कान्तिपुर दैनिकमा समाचार छ ।