समाचार

ल्होछारसम्म एमालेको हैसियत अहिलेको भन्दा दोब्बर हुनेः ओली



काठमाडौं, १५ माघ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्षको ल्होछारसम्म एमालेको हैसियत अहिलेको भन्दा दोब्बर हुने वताएका छन् । पार्टी निकट लोकतान्त्रिक तामाङ संघले सोनाम ल्होछारको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीन वर्ष अघिको गणितीय हैसियतमा रहेको वताए ।

उनले एमालेले अवसर पाएका बेला आफ्नो हैसियत देखाएर काम गरेको पनि वताए । ‘यस देशमा एमालेले मौका पायो कि आफ्नो हैसियत देखाउँछ । आजको एमाले हैसियत देखाउने सामथ्र्य राख्छ’ ओलीले भने, ‘अर्को ल्होछारको आसपासमा हामी धेरै गर्न सक्छौं यति भनेपछि कुरा बुझ्नु भो होला । अहिलेको गणित ३ वर्ष अघिको हो । ८ वर्ष अघिको गणित हेर्नुस् त कस्तो थियो । अवको गणित हेर्दै जानुुहोला ।’

अहिले चुनाव हुन नदिन फेरि पुरानै खालको द्वन्द्व बढाउन खोजिएको ओलीको भनाई थियो । ‘अहिले निर्वाचन हुन नदिनका लागि फेरि त्यही जातजाति, भाषा, धर्म सम्प्रदायको द्वन्द्व सिर्जना गर्न खोजिंदैछ’ ओलीले भने ।
सरकारले मुलुकलाई संकटतर्फ धकेल्न खोजेको वताउँदै त्यसलाई आफूले कुनै पनि हालतमा अस्वीकार गर्ने वताए । प्रधानमन्त्री पुष्पकमल दाहालसँग आजै भएको भेट स्मरण गर्दै ओलीले संकटतर्फको यात्रा एमालेले अस्वीकार गर्ने वताएको जानकारी दिए । ‘मैले प्रधानमन्त्रीसँग अघि भर्खरै भेटेर भनेको छु, संकटतर्फको यात्रामा जान दिने कुरा हामीलाई मञ्जुर छैन’ ओलीले भने, ‘सबै जातजाति, भाषाभाषी र सबै भूगोलमा बस्ने जनताको सम्पन्नताको बाटोमा बाहेक हामी अर्को बाटो जाँदैनौं ।’
एमाले सबै जाति, सबै भाषी, सबै धर्मावलम्बी र सबै भूगोलका जनताको साझा पार्टी भएकाले विकासको प्रतिफलमा समान पहुँच पुर्याउने उद्धेश्य बोकेको पार्टी रहेको ओलीले वताए । ‘विरोधीले अनेक हल्ला चलाउँछन्, एमाले सबै पेशा ब्यवसायका, सबै जातजातिका र सबै भूगोलमा बस्ने जताको साझा पार्टी हो’ ओलीले भने, ‘जवसम्म सबैले विकासका प्रतिफलमा आफ्नो पहुँच पुर्याउन सक्दैनन् तवसम्म हाम्रा उपलब्धीहरु आंशिक हुन्छन् र कमजोर हुन्छन् । हाम्रो पार्टीको उद्धेश्य आम जनताको खुहाली हो ।’

विविधता देशको सम्पन्नता भए पनि यसलाई विभेदका रुपमा भड्काउन खोज्ने शक्तिहरु रहेको र त्यसलाई जनताले सचेत भएर पराजित गरेको ओलीको भनाई थियो । ‘विविधताको हाम्रो सम्पन्नतालाई दुरुपयोग गरेर द्वन्द्व भड्काउन खोज्ने प्रयास असफल भएका छन् । जनजातिका नाममा, मधेसीका नाममा, धर्मका नाममा, भूगोलका नाममा घृणा फैलाउने प्रयास असफल भएको छ’ ओलीले भने, ‘सबैले अधिकार पाउन् सबैले समृद्धि पाउन् यो हो सबै जनताको चाहना । यो चहनामा सबै जनता सजगताका साथ अघि बढेका छन् ।’

उनले नेपाल विशेष प्रकाको देश भएको र यस्तो देश संसारमा नभएको पनि वताए । ‘सबै देश यस्ता हुँदैनन्, सानो भनेर ज्यादै सानो पनि छैन । ४० देश यो भन्दा साना छन्, ४१ देश यो भन्दा ठूला छन्’ ओलीले भने, ‘दुई छिमेकी ठूला भएर मात्रै सानो लागेको हो तर, हाम्रो देश सानो देश होइन ।