सम्पादकीय

सिंहदरबारभित्र यसरी हुन्छ करोडौंको लेनदेन



काठमाडौं, २० माघ ।  दशवर्षसम्म जनयुद्धको कमाण्डर बनेका प्रचण्डले नेतृत्व गरेको वर्तमान सरकारले एउटा सामान्य नियुक्तिमा पनि करोडौं रूपैयाँको लेनदेन गर्ला भनेर पत्याउन मुश्किलै पर्छ । तर सिंहदरबार परिसरभित्र रहेको नेपाल टेलिभिजनका कर्मचारीहरूबीच यस्तै चर्चा सुनिन्छ हालका दिनहरूमा ।

माओवादी पाटी खुला परिवेशमा आएपछि प्रधानमन्त्री दाहालका निकटस्थ व्यक्तिका रूपमा चर्चा पाएका र अवसर प्रयोग गर्दै आएका व्यक्ति नारायण दाहाल हुन् । उनै नारायण दाहालले एकजना कांग्रेस निकट व्यक्तिलाई नेपाल टेलिभिजनमा मासिक रु। ५१ हजार तलब र गाडी सुविधासहितको जागिरमा नियुक्ति दिलाउन करोडौं रूपैयाँ लेनदेन भएको चर्चा सिंहदरबार परिसरभित्र रहेको नेपाल टेलिभिजनका कर्मचारीहरूबीच चलिरहेको छ ।

समाचार सूत्रका अनुसार गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिभिजनमा एकजना महेशराज दाहाल नाम गरेका प्रधानमन्त्री प्रचण्डका सगोत्री तर नेपाली कांग्रेस पार्टीसँग निकट भएका व्यक्तिलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको प्रस्तावमा कार्यकारी अध्यक्षमा नियुक्त गरिएका महेशराज दाहाललाई नेपाली कांग्रेसका मिनेन्द्र रिजाल सञ्चारमन्त्रीमा कार्यरत रहँदा नेपाल टेलिभिजनको सञ्चालक समिति अध्यक्षमा नियुक्त गरिएको थियो ।

सञ्चालक समितिको अध्यक्षको भूमिका सेरेमोनियल हुने भएकाले उनलाई ५१ हजार मासिक तलब, १ सय लिटर इन्धन, फोन÷मोबाइल खर्च २ हजार र एउटा सवारी चालकसहितको सवारीसाधन सुविधा उपलब्ध गराउने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिएर नियुक्तिपत्र थमाइएको छ ।

मिति २०७३-१०-१४ को निर्णय भन्दै ०७३-१०-१८ मा नियुक्तिपत्र थमाइएको छ । नियुक्तिपत्रका बधाईसहित दिइएको छ र कार्यकाल सफलताको कामना पनि गरिएको छ । परन्तु कार्य अवधि भने तोकिएको छैन । स्मरणीय छ, नेपाल टेलिभिजनमा कार्यकारी अधिकारको प्रयोग महाप्रबन्धकले गर्दै आएका छन् ।

केही समययता रिक्त रहेको महाप्रबन्धकको पदपूर्तिका लागि विज्ञापन आह्वान भएर पनि उम्मेदवार छनौट गर्ने कामले पूर्णता पाउन बाँकी रहेकै बेला कार्यकारी अध्यक्षको नियुक्तिले नेपाल टेलिभिजन अन्यौल छाएको हो । कम्युनिष्ट प्रधानमन्त्री र कम्युनिष्ट सञ्चारमन्त्री कार्यरत रहेको अवस्थामा युद्धकालका पत्रकारहरूले आश गर्नु स्वाभाविकै हो ।

तर प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई भने कांग्रेसी कार्यकर्ता प्यारो लाग्न थालेका छन् । रेडियो नेपालमा पनि केही दिनअघि यसैगरी कांग्रेसी पृष्ठभूमिका कर्मचारीलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जनधारणा साप्तहिकमा समाचार छ ।