शैक्षिक

कारागारभित्रै कैदीको मृत्यु



चितवन, २० माघ । चितवनको जिल्ला कारागार भरतपुरमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ ।

नुवाकोट जिल्ला छत्रे आरुखर्क–४ का ब्रेन ट्यूमर भएका २३ वर्षीय बादल शाहीको बिहीबार बिहान करिब ६ बजेको समयमा मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिए ।

उनका अनुसार ब्रेन ट्यूमर भई क्यान्सर अस्पतालमा उपचारका लागि काठमाडौँबाट गत मङ्सिर २८ गते चितवनमा ल्याइएका उनको मृत्यु भएको हो । चोरीलगायत विभिन्न मुद्दामा १८ लाख ८४ हजार जरिवाना तिर्न नसक्दा उनी कैद भएका जनाइएको छ ।

उनको अहिलेसम्म आफन्तसमेत सम्पर्कमा नआएको जेलर काफ्लेले जानकारी दिए । अहिले केही बेरमा मुचुल्का उठाएर शवपरीक्षणका लागि भरतपुर अस्पताल पठाइने उनले जानकारी दिए । क्यान्सर लागेका सातजना बिरामी उपचाररत छन् । भरतपुर कारागारमा अहिले क्षमताभन्दा झन्डै तेब्बर बढी अर्थात पाँचसय ९० जना कैदी र थुनुवा छन् ।