Banner News

एकताबद्ध भएर बसेका नेपालीलाई जातीयरुपमा फुटाउने षड्यन्त्र भइरहेको छः बरिष्ठ नेता नेपाल



सिन्धुली, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि सबै दललाई एकजुट हुन आग्रह गरे ।

बासेश्वर गाविस– १ देउरालीटारमा स्व वासुदेव श्रेष्ठको शालिक अनावरण कार्यक्रममा नेता नेपालले संविधान कार्यान्वयन नभएमा मुलुक पहिलाकै अवस्थामा फर्कने बताए । “अहिलेको महत्वपूर्ण कार्य नै संविधान कार्यान्वयन गर्नु हो”– वरिष्ठ नेता नेपालले भने ।

संविधान कार्यान्वयनको एउटा मात्र विकल्प निर्वाचन भएको नेपालको भनाइ थियो । विसं २०७४ माघ ७ गतेसम्म तीनवटै निकायको निर्वाचन सम्पन्न गरी माघ ८ गते नयाँ सरकार बनाएर संविधान कार्यान्वयन गर्नुपर्नेमा नेता नेपालले जोड दिए । वैशाख महिनाभित्रमा स्थानीय निकायको निर्वाचन सम्पन्न नगरे मुलुक सङ्कटमा पर्ने वरिष्ठ नेताले भने ।

“एकताबद्ध भएर बसेका नेपालीलाई अहिले जातीय रुपमा फुटाउने षड्यन्त्र भइरहेकाले यसप्रति सबै सचेत हुनु जरुरी छ,”– नेता नेपालले भने।

मुलुकमा परिवर्तनका लागि वासुदेव श्रेष्ठले खेलेको योगदानको चर्चा गर्दै नेता नेपालले जनतामा सेवा गर्ने भावनाको विकास हुनुपर्ने बताए। श्रेष्ठजस्ता व्यक्तिले गरेको योगदानकै कारण मुलुकले नयाँ संविधान पाएको नेता नेपालको भनाइ थियो ।