शैक्षिक

जब विद्यालयका शिक्षक स्थानीय चन्दादाताको खोजीमा भौतारिन्छन



 

चितवन, २७ माघ । सरकारले माध्यमिक तहसम्मको पढाइलाई निःशुल्क घोषणा गरेको भए पनि विद्यालयमा आवश्यक पर्ने दरबन्दी उपलब्ध गराउन नसक्दा अधिकांश सामुदायिक विद्यालय विभिन्न नाममा शुल्क उठाउन बाध्य छन् ।

शिक्षा नियमावलीमा भर्ना र मासिक शुल्क लिन नमिल्ने उल्लेख भए पनि त्यही नियमावलीमा विद्यालय सञ्चालनका लागि सहयोग स्वरुप चन्दा जुटाउन सकिने उल्लेख छ । त्यसैलाई टेकेर विद्यालयले शैक्षिक सुधार चन्दाको नामबाट विद्यार्थीसँग शुल्क लिँदै आएका छन् । कतिपयले सामुदायिक वन, स्थानीय दातासँग चन्दा उठाएर पनि विद्यालय सञ्चालन गर्न बाध्य भएका छन् ।

जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालका अनुसार हाल जिल्लामा सञ्चालित २१ वटा माध्यमिक विद्यालयमा माध्यमिक तहको दरबन्दी नै छैन । त्यसैगरी ४२ वटा निम्न माध्यमिक विद्यालयमा सो तहको दरबन्दी छैन । ती विद्यालयका अतिरिक्त अन्य विद्यालयमा दरबन्दी भएर पनि अपुग रहेको जिशिअ अर्याल बताए । शिक्षा विभागले तोकेको मापदण्डअनुसार जिल्लामा निम्न माध्यमिक तहमा २९१ जना शिक्षक अपुग छ भने माध्यमिक तहमा २६६ जना शिक्षक अपुग रहेको वताए ।

जिल्लामा ७६ हजार ८१ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । दुई हजार ८११ शिक्षक दरबन्दी छ । माध्यमिक तहमा ३०९ दरबन्दी र ७४ जना अनुदानका शिक्षक रहेका छन् । निम्न माध्यमिक तहमा ४०५ दरबन्दी र १३३ अनुदानका शिक्षक छन् भने प्रावि तहमा एक हजार ६७५ दरबन्दी, २०० अनुदान र १५ जना महिला शिक्षक रहेका छन् ।

विद्यार्थीको सङ्ख्या सामुदायिक विद्यालयमा धेरै भए पनि दरबन्दी नहुँदा विद्यालय कठिन रुपमा सहयोग चन्दा जुटाएर सञ्चालन भइरहेका जिशिअ अर्यालले बताउनुभयो । न्यून तलबमा निजी स्रोतमा शिक्षक राखेर कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएका उहाँको भनाइ छ । पछिल्लो समय दरबन्दीको सुनिश्चितता नभएसम्म तह बढाउन रोकिएको पनि उहाँले बताउनुभयो । जिल्लामा २१३ प्रावि, १६४ निमावि र ९५ वटा मावि सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

भरतपुरको नारायणी उच्च माविका प्राचार्य पूर्ण दवाडी माध्यमिक तहमा मात्र ६३३ विद्यार्थी रहे पनि १० मात्र शिक्षक दरबन्दी पाएको बताए । विद्यालयमा कुल शिक्षक कर्मचारी ५७ जना रहेकामा २० जना निजी स्रोतका छन् । विद्यार्थीबाट शैक्षिक सुधार चन्दा लिएर विद्यालय सञ्चालन गरिरहेको उनले वताए । बताउनुभयो । सो विद्यालयले माध्यमिक तहमा अङ्ग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थीसँग मासिक रु ५०० र नेपाली माध्यमबाट अध्ययन गर्ने विद्यार्थीसँग रु २०० चन्दाको नाम दिएर शुल्क उठाउँदै आएको छ ।