अर्थ

डेनमार्कका राजकुमार गोरखाको तरकारी खेतीमा



गोरखा,१५ फागुन । दशदिने अनौपचारिक भ्रमणका लागि नेपाल आउनुभएका डेनमार्कका राजकुमार योकिम हेल्गर वाल्दीमार क्रिश्चियनले भूकम्पपछि गोरखाको खोप्लाङ र गाँखु गाविसमा खाद्य सुरक्षा, भूकम्पपीडितको जीविकोपार्जनको अवस्था र पुनःनिर्माणको अवस्थाबारे आज अवलोकन भ्रमण गरो छन् ।

केयर नेपाल र डेनमार्क दूतावासको आमन्त्रणमा नेपाल आउनुभएका राजकुमारले गोरखाको खोप्लाङस्थित पुतलीखेतमा खोप्लाङ महिला कृषि सहकारीले केयरको आर्थिक सहयोगमा गर्दै आएको व्यावसायिक तरकारीखेती अवलोकन गरेका हुन् ।

खोप्लाङका १२१ जना महिला आबद्ध रहेको सहकारीले काउली, गोलभँेडा, साग, प्याज, लसुन, गाजरलगायत तरकारीखेती गरी बजारमा बिक्री गरेर मनग्य आम्दानी लिँदै आएका छन् ।

सहकारीकी अध्यक्ष दुर्गा तिवारीले भन्नुभयो, “महिला मिलेर सामूहिक रुपमा तरकारीखेती गरेका छौँ । कमाइ राम्रो भएको छ । बेसारखेती पनि गरिएको छ । बिचौलियाले गर्दा भने जस्तो तरकारीको मूल्य पाएका छैनौँ ।” बजार टाढा हुँदा तरकारी बिक्री गर्न असहज भएको तिवारीको भनाइ छ ।

डेनमार्क केयरले केयर नेपालमार्फत पठाएको आर्थिक सहयोग स्वाँरा सघन गाविसको साझेदारीमा खोप्लाङका भूकम्पपीडित महिलालाई तरकारीखेती गर्न उपलब्ध गराइएको थियो ।

केयर नेपालका गोरखास्थित प्रमुख माधव ढकालले गोरखाको खोप्लाङ, गाँखु, छोप्राक र हर्मी गाविसमा गरी भूकम्पपछि रु दुई करोड ५४ लाख सहयोग गरिएको बताए।

भूकम्प प्रभावितको जीविकोपार्जनमा सुधार ल्याउन गरिब घरपरिवार छनोट गरी बङ्गुरपालन, बाख्रापालनमा खोर निर्माण, तरकारीका बीउविजन सहयोग, कृषिउपज सङ्कलन केन्द्र भवन निर्माण सहयोग, तरकारीखेती सिँचाइका लागि कुलो तथा प्लास्टिक पोखरी निर्माणमा सहयोग, तरकारीखेती, वित्तीय व्यवस्थापनका लागि तालिम र भ्रमणलगायत कार्यक्रम गर्न सहयोग गरिएको स्वाँरा सघन केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले जानकारी दिए।

भूकम्पपछि डेनमार्क केयरको आर्थिक सहयोगमा केयर नेपालले गोरखामा भूकम्पप्रति कार्यक्रम, जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम, यौन तथा प्रजनन स्वास्थ्य, प्राकृतिक स्रोत व्यवस्थापन र विभिन्न प्रकोपका पूर्वतयारीबारे कार्यक्रम गर्दै आएको छ ।

भ्रमणका क्रममा आज व्यावसायिक तरकारीखेती गरिएको खोप्लाङको पुतलीखेत पुग्नुभएका राजकुमारले तरकारीको उत्पादन र बजारीकरणबारे जिज्ञासा राखेका थिए ।