राजनीति

संशोधन प्रस्ताव पारित नभए त्यहि एजेण्डालाई निर्वाचनमा लैजान मोर्चालाई गगनको आग्रह



काठमाडौँ, १६ फागुन । स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री थापाले वर्तमान सरकार नै निर्धारित मितिभित्रै तीनै तहको निर्वाचन गर्न गठन भएको बताए ।

‘यो सरकार नै आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गर्न गठन भएको हो, निर्वाचन नै गर्न नसक्ने अवस्था आयो भने सरकारको औचित्य समाप्त हुन्छ’, उनले भने, ‘यो कुरा स्वयम प्रधानमन्त्रीले नै भन्नुभएको छ, त्यसैले हामी निर्वाचन सफल बनाउन खरो उत्रिन्छौं ।’

उनले घोषित मिति मै स्थानीय तहको निर्वाचन गर्ने कुरामा सरकार अलमलमा नरहेको जिकिर गरे । ‘बैशाख ३१ गते नै निर्वाचन हुन्छ, सरकार अलमलमा छैन’, थापाले भने, ‘निर्वाचन गराउन नसक्ने हो भने सरकारको औचित्य समाप्त हुन्छ, सरकार हुनुको अर्थ हुँदैन, सरकार लम्ब्याउने र तन्क्याउनेको अर्थ हुँदैन ।’

‘सरकारले संसदमा टेबुल गराएको संविधान संशोधन प्रस्तावलाई पारित गराउनको लागि हामी हरसम्भव राजनीतिक प्रयास गर्छौं’, साक्षात्कारमा बोल्दै मन्त्री थापाले भने, ‘यसका बावजुदपनि भनेजस्तो निश्कर्ष निस्कने सकेन भनेपनि सबै दल निर्वाचनमा जान उत्साहित हुनुपर्छ, निर्वाचन आफूलाई पुष्टि गर्ने मौका हो ।’

मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यहि एजेण्डालाई निर्वाचनमा लैजान आग्रह समेत गरे।

नेकपा ९एमाले०को संविधान संशोधन गर्न हुँदैन भन्ने र मधेसी मोर्चाको संविधानले केही पनि दिएन भन्ने सोच नै अतिवादी रहेको गुनासो थापाले पोखे । ‘उनीहरु यिनै एजेण्डा लिएर चुनावमा जान्छन्, तर हामी मध्यमार्गी बाटोमा मुलुकलाई निकास दिने एजेण्डा लिएर चुनावमा जान्छौं ।’