Banner News

राप्रपा केन्द्रीय समितिको बैठक स्थानीय निकायको निर्वाचनमा केन्द्रित



काठमाडौँ, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठको विस्तार गर्नेबारे छलफल सुरु गरिएको छ ।

धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा ३० केन्द्रीय सदस्यले सो विषयमा आआफ्नो धारणा र दृष्टिकोण राखेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल गरिएको छ ।

पार्टीका नेता ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको ‘स्थानीय निकाय निर्वाचन तयारी’ विषयको कार्यपत्रमा अधिकांश नेताले आगामी निर्वाचनका लागि गृहकार्य गर्न सुझाव दिए। अर्का नेता राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘पार्टीको स्थानीय संरचना’का विषयको कार्यपत्रमाथि केही नेताले जनतामाझ पार्टीका कार्यक्रम सञ्चालन गर्नका लागि जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउन सुझाव दिए।

बैठकमा पार्टी अध्यक्ष थापाले मधेसकेन्द्रित दललाई विश्वासमा लिएर चुनावमा जानुपर्ने बताउँदै मधेसलाई बाहिर राखेर चुनावमा गएमा संविधान कार्यान्वयन जटिलता आउने विचार व्यक्त गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। बैठक शुक्रबार बिहान ९ः३० बजे पुनःबस्ने छ ।