राजनीति

महेन्द्र राय यादवले भने एमालेको मेची–महाकाली अभियान सप्तरीबाटै शूरु गर्नुहोस हामी विथोल्दैनौ



काठमाडौं २६,फागुन । मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले मधेसको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अवरोध नगर्ने बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले भने,‘अब एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेसी मोर्चाले हिजोपनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’

साक्षात्कारमा यादवले एमालेलाई आफूहरुले तराई–मधेसमा कहिल्यै पनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे । उनले भने, ‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस, हामी विथोल्दैनौं, विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारबाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गरउाँछौं ।’

उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको बताए । उनले भने,‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ ।’ उनले यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनैपनि अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्ने स्पष्ट पारे । उनले भने,‘उहाँहरुले अभियान चलाउन पाउनुहुन्छ, त्यो उहाँहरुको अधिकारको कुरा हो ।’

उनले सप्तरी घट्नामा मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको उनको आरोप छ । उनले भने,‘एमालेको अभियानबारे मधेसी जनतामा आक्रोश थियो, यो घट्नामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो रु, यो नश्लवादी गतिविधि हो ।’

उनले घट्नाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे।‘यादवले थपे,‘घट्नामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भिर विषय उठाएको छ, हत्या प्रयास भनेर, यसको छानविन होस्, उहाँहरुको कुराबाट हामी पनि चिन्तित छौं ।’
उनले एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्ने माँग गरे ।

उनले भने,‘संसदभित्रबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ ।’ यादवले आफूहरुले सरकारलाईपनि ज्ञापनपत्र बुझाईसकेको बताउँदै भने,‘हामीले सरकारलाईपनि ज्ञापनपत्र बुझाएका छौं, ७ दिनको अल्टिमेटम दिएका छौं ।’ यादवले एमालेले मधेसी जनताहरुलाई उत्तेजित बनाउने काम गरेको गुनासो पोख्दै थपे,‘मधेसी जनतालाई दोस्रो दर्जाको नागरिक भन्ने काम गर्यो, यस्तो गर्नुहुँदैन्थ्यो ।’
यादवले सप्तरी घट्नाले कसैको पनि भलो नगर्ने स्पष्ट पारे । उनले मुलुकको समस्याको समाधानको लागि संविधान संशोधन पास गर्नुपर्ने र पहिले केन्द्रको चुनाव गर्नुपर्ने सुझाए । उनले भने,‘संविधान संशोधन मार्फत हाम्रा मुद्दा हल गरौं, अनि केन्द्रको निर्वाचन गरेर जानुपर्छ, त्यसपछि मात्रै प्रदेशको चुनाव गरौं, प्रदेशको चुनाव गरेपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्छ, किनकी स्थानीय तह भनेको प्रदेशको मातहातमा रहन्छ ।’ उनले निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल जिम्मेवार बन्नुपर्ने धारणा राखे ।