Banner News

भारतीय प्रहरीको गोलीले स्थानीय नेपाली गौतमको मृत्यु, प्रहरीसहित थुप्रै घाइते



महेन्द्रनगर, २६ फागुन । कल्भर्ट निर्माणमा विवाद बढ्दै गएपछि कञ्चनपुरको पुनर्वासमा भारतीय प्रहरीको गोली लागेर स्थानीय पुनर्वास( ८ माछापुच्छ्रे टोलका गोबिन्द गौतमको मृत्यु भएको छ ।

समाचार स्रोतका अनुसार भारतीय हस्तक्षेपविरुद्ध प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले १२ राउण्ड गोली प्रहार गरेको छ । भारतीय प्रहरीको गोली लागेर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनामा नेपाल प्रहरीका जवानसहित थुप्रै नेपाली घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

पुनर्वासको आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै भारतीय एसएसबीले हस्तक्षेप गरेपछि स्थानीय नेपाली प्रतिकार उत्रिदा भारतीय पक्षबाट गोली चलेको हो ।

अहिले घटनास्थलमा कैलालीबाट समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ । महेन्द्रनगरको दंगा प्रहरीलाई पनि खटाइएको छ ।

नेपाली सुरक्षाकर्मीको संख्या बढेसँगै भारतीयहरु अलि पर भागेको पत्रकार बागले घटनास्थलबाट जानकारी दिए । टेलिफोनमा उनले भने( ‘हाम्रो सशस्त्र प्रहरीसँग हतियार छैन् । लाठीको भरमा यहाँ खटिएका रहेछन् । पारी भारतले सीमा जंगलमा पुरै एसएसबी परिचालन गरिरहेका छन् । स्थिती तनावग्रस्त छ । दुबै पक्षबीच सम्वाद र सहमति गर्ने अवस्था छैन् ।’