Banner News

टिकापुरमा रावलले भने–एउटा जातिसंग अर्को जातिलाई लडाउने प्रयास नगर



टिकापुर, २ चैत। मेची–महाकाली अभियानका क्रममा कैलाली पुगेको एमालेले बुधवार टीकापुरमा भव्य सभाको आयोजना गरेको छ । गत वर्ष भदौ ७ गते टीकापुर नरसंहार भएकै स्थानमा एमालेले विशाल जनसभा गरेको हो।

सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले बिद्वेषको सहारामा स्वार्थपूर्ति गर्न चाहने र जात जातिलाई भिडाएर नेपालीको एकता कमजोर पार्नेसँग सचेत रहन आग्रह गरे । गत वर्ष टीकापुर हत्याकाण्ड हुनुअघि हत्याका लागि उक्साउन पुगेका मधेसी मोर्चाका नेताहरुतर्फ लक्षित गर्दै रावलले त्यस्ता शक्तिले जुनसुकै जातिको कुरा उठाए पनि उनीहरु कसैको भलो गर्ने पक्षमा नरहेको वताए ।

‘गतवर्ष दूधे बालक र ७ जना सुरक्षाकर्मीको यही ठाउँमा हत्या भयो, हत्याका लागि जसले उक्साएका थिए उनीहरु बिद्वेष मार्फत आफ्नो स्वार्थपूर्ति गर्न चाहन्छन्’ रावलले भने, ‘एमाले सिंगो देशलाई एकतावद्ध बनाएर समृद्धिमा लैजान चाहन्छ ।’ टीकापुर घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रावलले घटनाबाट पीडितहरुप्रति सहानुभुति ब्यक्त गरे ।

थारु बाहुन्य क्षेत्रमा आयोजित सभामा थारु समुदायको उल्लेख्य सहभागिता थियो । सभामा उपाध्यक्ष रावलले जाति र समुदायलाई जुधाउन गरिएका प्रयाससँग सजग रहन आग्रह गरे ।