Banner News

कांग्रेस एजेण्डा विहीन पार्टी बन्दैः प्रधानमन्त्री बन्ने धूनमा देउवा मधेसी मोर्चाको पछि लाग्दै



काठमाण्डौ,३ चैत्र । देशको सबै भन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । ठूलो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा ठूलै हुनु पर्ने हो । मुलुकमा उत्पन्न संकटलाई निकास दिन कांग्रेसले भूमिका निर्वाह गर्नु पर्ने हो ।तर, कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेल्नमा नै उद्धत भएको देखिदै आएको छ । यसबीच सरकारले चुनाव घोषणा गरिसकेको छ ।

तर, अहिले आएर कांग्रेसको त्यसमा पनि सभापति शेरवहादुर देउवाको भूमिका निर्वाचन विथोल्ने खेलमा केन्द्रित हुन थालेको छ । जसरी पनि चुनाव हुनै नदिने खेलमा लागेका मधेसी मोर्चालाई देउवाले साथ र सहयोग दिदै आउनु भनेको प्रकान्तरले घोषित मितिमा चुनाव हुन नदिनु नै हो ।

यतिवेला कांग्रेससंग राष्ट्रिलाई निकास दिने आफ्नो पार्टीको कुनै मुद्दा छैन् । कांग्रेस मधेसी मोर्चाको एजेण्डामा लुरु–लुरु हिड्न थालेको छ । मोर्चा जता –जता लाग्यो त्यसकै पछि–पछि दर्गुनुमा सभापति देउवाको जसरी भएपनि प्रधानमन्त्री बन्ने आत्माकेन्द्रित सोच वाहेक अर्को के हुन सक्छ र ? मोर्चालाई खुशी पा¥यो भने,मोर्चाले प्रधानमन्त्री पद दिलाईदिन भूमिका खेल्छ भन्ने सोचका साथ देउवा मोर्चाको पछि लागेको कांग्रेसै नेताहरुले भन्न थालेका छन् । मोर्चाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको अवस्थामा मोर्चाको मागको कांग्रेस पछि लाग्नु भनेको घोषित मितिमा चुनाव नगर्ने खेल वाहेक अर्को के हुन सक्छ ?

त्यसोत मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा एमालेको पक्षमा जनलहर उर्लिएको देखेपछि कांग्रेस –माओवादी घोषित चुनाव रोक्ने खेलमा लागेको देख्न थालिएको छ । स्थानीय निकायको निर्वाचन भए हिमाल,पहाड र तराई सबैतिर एमाले पार्टीले बढार्ने निष्कर्ष निकाल्दै घोषित मितिको निर्वाचन नै रोक्ने डिजाइन अनरुप कांग्रेस सभापति शेरवहादुर देउवाले अभियान अघि बढाएका छन् ।

सिगो देशलाई नै निर्वाचनको माहोलतर्फ लैजानु पर्ने जिम्मेवारी बोकेको सत्तारुढ दलका सभापति देउवा उल्टै पहिले संविधान संम्शोधनको गीत गाउँदै हिड्नु भनेको यो वा त्यो वाहनामा निर्वाचन विथोल्नु नै हो ।
निर्वाचन तर्फ अघि बढिसकेको मुलुकलाई एकाएक संम्शोधनको नाममा पछाडि फर्काउने खेलमा देउवा लागेका छन् । यसबीच देउवाले मधेसी मोर्चाका नेताहरुलाई भेटेर चुनाव भन्दा पहिले नै जसरी भए पनि संविधान सम्शोधन हुने र आफू त्यसका लागि क्रियाशील भएको वताइसकेको छन् ।

त्यति मात्रै होइन, देउवाले निर्वाचन रोक्नका लागि पार्टीबाट समेत निर्वाचन र संविधान सम्शोधनको विषय संगसंगै लैजाने भनेर पार्टीलाई नै निर्वाचन रोक्ने कित्तामा उँम्याएका छन ।

काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको केही दिन अघि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको जनाकारी कांगेसका नेताहरुले दिएका छन् ।

निर्वाचनमा सबै दलले भाग लिने र सबै नेपालीलाई भयमुक्त मतदान गर्न पाउने वातावरण बनाउन दलले अग्रसरता लिने निष्कर्षसमेत निकालेको छ । यसको अर्थ निर्वाचन कांग्रेसको पहिलो रोजाई होइन, संविधान सम्शोधन भएको छ ।