विश्व

क्याटालोनियाका नेतालाई राज्य टुक्र्याउने काममा नलाग्न इयुको आग्रह



ब्रसेल्स, २५ असोज एएफ्पी ।युरोपेली युनियनले क्याटालोनियाको पृथकताका लागि आन्दोलन गरिरहेका नेताहरुलाई राज्य टुक्राउने काममा नलाग्न र जनमत संग्रहको परिणामको वकालत गरी द्वन्द्व चर्काउने काम नगर्न आग्रह गरेको छ ।

हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणा गरेपछि इयुको सो भनाई आएको हो ।

युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले सो आग्रह गर्नुभएको हो । उहाँले हाललाई यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गर्नुभएको बताइएको छ ।

क्याटालोनिया स्वतन्त्रताका लागि हालैमात्र जनमत संग्रह गरिएको थियो । तर जनमत संग्रहलाई विवादास्पद मानिएको छ ।

सो विवादपछि विभिन्न विश्व समुदायले पनि क्याटोलोनियाको विरोधका कार्यक्रमहरुलाई नचर्काउन क्याटलोनियाली पृथकतावादी नेताहरुलाई दबाब दिएका बताइएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले जनमत संग्रह सर्वस्वीकार्य हुन नसकेको धारणा यसअघि नै राख्नुभएको थियो । उहाँले पनि सो जनमत संग्रहको निर्णयबाट नै पछि हट्न ती नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

उक्त राज्यको स्वतन्त्रताका लागि तथा त्यसको पनि विरोधमा बार्सिलोना तथा म्याड्रिडमा दिन प्रतिदिन विरोध कार्यक्रमहरु जारी छन् । निर्णयको पक्ष र विपक्षमा समेत दिनहुँ हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।

क्याटालान नेता कार्लेस पुज्दमोन क्याटलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा हुनुहुन्छ । तर उहाँलाई यो योजना छोड्न चर्को दबाब आइरहेको बुझिएको छ ।

गत साता भएको जनमत संग्रह विवादास्पद भएको थियो । सो निर्वाचनपछि यहाँका नेताहरुले लगत्तै एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताको घोषणा गर्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकिरहेको छैन ।