Banner News

रहेनन् ह्विलचेयरबाटै ब्रह्माण्ड जित्ने वैज्ञानिक हकिङ



काठमाण्डौ १ चैत्र । ‘म मृत्युसँग डराउँदिनँ । तर, मलाई मर्नका लागि हतार छैन । मेलै जीवनमा धैरै काम गर्न बाँकी छ,’ वर्तमान युगका महान् वैज्ञानिक स्टिभन हकिङ यसै भन्थे । तर, अब उनको भौतिक शरीर हामीबीच छैन । भौतिकशास्त्रका विश्वविख्यात वैज्ञानिक हकिङको निधन भएको छ ।

उनको ७६ वर्षको उमेरमा बेलायतको क्याम्ब्रिजस्थित आफ्नै घरमा बुधबार निधन भएको हो । हकिङलाई न्युटन र आइन्सटाइनपछिकै तेस्रो ठूलो वैज्ञानिक मानिन्थ्यो । बेलायतमा जन्मिएका हकिङले ब्रह्माण्ड र क्वान्टम थ्योरीको आविष्कार गरेका थिए । उनले ‘ब्ल्याक होल’ र सापेक्षताबारे अभूतपूर्व अनुसन्धान गरेका थिए ।

‘हाम्रा प्यारा पिताको असामयिक निधनले हामी मर्माहत छौँ,’ उनका सन्तान लुसी, रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘उनी महान् वैज्ञानिक र असाधारण थिए, उनका विचार वर्षौंसम्म बाँचिरहनेछन्,’ विज्ञप्तिमा भनिएको छ । उनको साहस र धैर्यको प्रशंसा गर्दै उनको विद्वता र दृष्टिकोणले विश्वभरका मानिस प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ । उनी क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रह्माण्ड विज्ञान केन्द्रका शोधनिर्देशकसमेत थिए । उनले विज्ञानका असंख्य पुस्तक लेखेका थिए । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक सर्वाधिक बिक्री भएको कृति हो ।

भौतिकशास्त्रका चर्चित वैज्ञानिक हकिङ न्युटन र आइन्सटाइनपछिकै तेस्रो ठूलो वैज्ञानिक मानिन्थे

हकिङको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैँ ह्विलचेयरमा रहने उनले शारीरिक अक्षमताका बाबजुद कुनै पनि व्यक्तिको मानसिक क्षमता कतिसम्म हुन्छ भन्ने उदाहरण पेस गरेका थिए । २१ वर्षको उमेरमा हकिङ सिकिस्त बिरामी परेका थिए । उनलाई दुर्लभ मोटर न्युरोन रोग लागेको थियो । चिकित्सकहरूले उनलाई दुई वर्षभित्र मर्ने घोषणा गरेका थिए । सो रोगपछि उनी आजीवन ह्विलचेयरको सहायता लिन बाध्य भएका थिए । उनी भोइस सिन्थेसाइजरको सहायतामा मात्र बोल्थे।

उनले दुईवटा विवाह गरेका थिए । तर, दुवै विवाह सम्बन्धविच्छेदमा रूपान्तरण भएको थियो । उनले सन् १९६५ मा जेन वाइल्ड नाम गरेकी युवतीसँग बिहे गरेका थिए । जेनतर्फ हकिङका तीन सन्तान छन् । जेनलाई छोडेर हकिङ पछि इलेन मेसन नाम गरेकी नर्सको प्रेममा चुर्लुम्म डुबेका थिए । इलेनसँग उनले सन् १९९५ मा बिहे गरेका थिए । तर, सो विवाह लामो समय टिक्न सकेन । सन् २००६ मा उनीहरूको सम्बन्धविच्छेद भयो ।

सन् २००९ मा लिइएको यस तस्बिरमा हकिङलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गर्दैअमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा । अमेरिकी सरकारले प्रदान गर्ने यो सबैभन्दा ठूलो नागरिक सम्मान हो ।

उनको पढाइप्रति शिक्षकहरूसमेत चिन्तित थिए । तर, त्यही कमजोर बालक स्टिफन हकिङका रूपमा प्रख्यात भए । सन् २०१४ मा हकिङले पहिलोपटक फेसबुकमा लेखेको स्टाटस चर्चित बनेको थियो । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए, ‘म जहिले पनि सृष्टिको रचनामाथि केन्द्रित छु । समय एवं अन्तरिक्ष सदा रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’
हकिङले पारमाणविक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौती थपिरहेको बारम्बार बताउने गरेका थिए । उनले मानिस बसोवास गर्न योग्य अर्को ग्रह पत्ता लगाउने बताएका थिए । ‘यसबाट मानव जातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए । वैज्ञानिक भएर पनि उनी सदा चर्चामा रहे । उनी द सिम्पसन, स्टार ट्रिकलगायत सुपरहिट टेलिभिजन कार्यक्रममा अतिथि बनिसकेका छन् । कुनै पनि वैज्ञानिकले जीवित छँदै उनको जति ख्याती पाएका थिएनन् ।

हकिङले विश्व तापमान, नयाँ खालका भाइरस र पुच्छे्ताराको असरबाट मानव जीवन अन्त्य हुनेछ भन्ने भविष्यवाणी गरेका थिए । सन् २००९ मा उनलाई अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरेका थिए । अमेरिकी सरकारले प्रदान गर्ने यो सबैभन्दा ठूलो नागरिक सम्मान हो ।नयापत्रिका बाट ।