विश्व

यमनमा बालबालिका चढेको बसमाथि आक्रमण : २९ को मृत्यु, ३० घाइते



साउन २५, एजेन्सी । यमनको उत्तरी सादा प्रदेशको दयान शहरमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेको बसमाथि आक्रमण हुँदा ४३ जना को मृत्यु भएको हुथी विद्रोहीले जनाएको छ । घटनामा कसको हात रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुनेगरी भएको रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ । त्यस्तै यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रसङ्घले यमनमा मानवीय सङ्कट विश्वकै नराम्रो अवस्थामा रहेको जनाएको छ ।

गत हप्ता बिहीबार भएको आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका आइसीआरसीले बताएको छ ।